पुन मगर समाजको बार्षिक भेटघाट सम्पन्न
लेखक:- ललित गर्बुजा पुन मगर (कोष अध्यक्ष पुन मगर समाज यु के २०१५)
लण्डन । गत ११ जुलाई शनिबार लण्डनस्थित हार्रोवरो फुटबल क्लब’’मा पुन मगर समाज यूकेको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भयो ।
हस्न्लो एरिया प्रतिनिधि श्री अंग बहादुर गर्बुजा पुन मगरको संयोजकत्वमा कार्यक्रम भएको हो । सो संस्थाले नेपालबाट बेलायत आएर विभिन्न शहरमा बसोबास गर्दै आएका पुन मगरहरुलाई एकै ठाउँमा भेला गरी एकआपसमा चिनजान, भलाकुसारी र भावी सन्ततिहरुलाई आफ्नो संस्कार, संस्कृतिबारे जानकारी गराउने उद्देश्यले सन् २०१४ देखि बार्षिक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ । त्यस दिनको कार्यक्रममा मगर संघ यूके का अध्यक्ष दुतबहादुर गर्बुजा पुन मगरको मुख्य आतिथ्यमा सम्पन भएको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, नेपाल पुन मगर समाजका बरिष्ठ उपाध्यक्ष हर्कबहादुर पहरे पुन मगर, मगर संघ यूकेका वर्तमान महासचिव, तमुधिँ यूकेका सल्लाकार चेत गुरुङ, रिटाएर्ड लेफ्टिनेन्ट नारायण गुरुङ, तमुधिँ लण्डन इकाईका अध्यक्ष डेभिड गुरुङ, सदस्य लक्ष्मी गुरुङ, दोभान स्टोरका प्रोप्राइटर गोपी गुरुङ, एनआरएनए यूके निवर्तमान महासचिव योगकुमार फामी साथै उनका श्रीमती सरला फगामी, समाजसेवी ओम पाईजा पुन मगर, नेपालबाट आएकी लोकप्रिय लोकगायिका निता पुन मगर, चर्चित लोकगायिका कल्पना गुरुङ पुन मगर लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितिले कार्यक्रम सुनमा सुगन्ध थापिएको आयोजकको भनाई छ ।
औपचारिक कार्यक्रम र विविध सांस्कृतिक कार्यक्रम गरी दुई चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणको कार्यक्रममा, समाजका सहसचिव तुलचन्द्र तिलिजा पुन मगरले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराएबापत समाजका अध्यक्ष बिल पुर्जा पुन मगर तथा प्रमुख अथिति दुत गर्बुजा पुन मगरले करबाकेली बाबाको फोटोमा संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । समाजको तर्फबाट प्रमुख अतिथि र उनका धर्मपत्नी जमुना गर्बुजा पुन मगर पुन मगर समाज यूकेका बेजिंगस्टक ईलाका प्रतिनिधिमा चयन भएका चन्द्रराम खोरजा पुन मगर लगायत सम्पूर्ण उपस्थित अतिथिहरुलाई समाजका अध्यक्ष बिल पुर्जा पुन मगर र समाजका सल्लाकारलगायतले खादा ओढाई सम्मान तथा स्वागत गरेका थिए ।
कार्यक्रममा समाजका सदस्यहरुलाई गुमाउनु परेकोमा दिवंगत आत्मको चिरशान्ति र नेपालमा महाभूकम्पमा परी दिवंगत भएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्दै दुई मिनेट पाइपरको धुनमा मौनधारण गरिएको थियो । त्यसलगतै समाजका उपाध्यक्ष रग पुर्जा पुन मगरले स्वागत मन्तव्य राखेका थिए भने क्रमशः प्रमुख अतिथि मगर संघका अध्यक्षलगायत नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष, नेपाल पुन मगर समाजका बरिष्ठ उपाध्यक्षलगायत समाजसेवी ओम पाईजा पुन मगरहरुले समाजको बारेमा अनि समाजको उतरोतर प्रगतिको कामनासहित शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
दोस्रो चरणको विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समाजका कोषाध्यक्ष ललित गर्बुजा पुन मगरले सुरुआत गरेका थिए । सांस्कृतिक कार्यक्रममा पुन मगरहरुको अति लोकप्रिय पुख्र्यौली(सोरठी)को बारेमा केही चर्चा गर्दै पुख्र्यौली नाचबाट सुरु गरिएको थियो । नेपालबाट आएकी लोकगायिका निता पुन मगरलगायत कल्पना गुरुङ, खिम पुन मगरले मजाले नचाए भने डोन्कास्टरका दिदीबहिनीहरुको कौडा नाच लगायत बोनटोक, हन्स्लो, रेडिंगका भान्जा, भान्जीहरुको नाचले अति नै मनोरन्जन दिलाएको थियो । कार्यक्रममा समाजको गतिविधि देखेर समाजलाई सहयोग गर्ने क्रममा मगर संघका अध्यक्ष दुत गर्बुजा, तमुधिँ यूकेका सल्लाकार चेत गुरुङ लगायत समाजका सदस्य इन्द्रमान खोरजाहरुले सहयोगस्वरूप रकम समाजलाई सहयोग गरेका थिए । धेरै नयाँ सदस्यहरुले समाजप्रति खुशी प्रकट गर्दै सदस्य दर्ता गराए ।
कार्यक्रममा खानपानको व्यवस्थापन अध्यक्ष बिल पुर्जा पुन मगरले रेडिंगस्थित हिमालयन मोमो रेस्टुरेन्टबाट प्रबन्ध गरेका थिए भने हरेक समाजका सदस्यहरुले आ–आफ्नो काममा जिम्मेवारी निभाएबापत समाजका अध्यक्ष बिल पुर्जा पुन मगरले आउने बर्षहरुमा पनि सहयोग गर्न आग्रह गर्दै उपस्थित पाहुनालगायत सम्पूर्ण समाजका सदस्यहरुमा धन्यवाद दिए ।
अन्तिम चरणमा समाजका सचिव तेज रामजाली पुनमगरले बाँकी कार्यक्रम सञ्चालन गर्नेक्रममा आर्टिस भान्जा, भान्जी, दिदीबहिनी, भाग्योदय चिट्ठामा सहयोग गर्ने सदस्य लगायत गायक÷गायिकाहरुलाई प्रशंसापत्र र खादाले समान गरे । त्यसलगतै धौलागिरि नौमती समूहको प्रस्तुतिमा निता पुन मगर र सोम तिलिजा पुन मगरको घम्साघम्सी दोहोरीले रातको ११ बजेसम्म दर्शकहरुलाई मजाले छमछमी नचाएका थिए ।
